काठमाडौं। पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपबारीबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि सीमा क्षेत्रमा सक्रिय लागूऔषध तस्करी सञ्जालमाथि सुरक्षा निकायको अनुसन्धान केन्द्रित भएको छ।


शनिबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बोर्डर आउट पोस्ट बीओपी को संयुक्त टोलीले आँपबारीमा खोजतलास गर्दा घाँसभित्र सावधानीपूर्वक लुकाएर राखिएका १३ वटा पोकामा करिब १४० किलो गाँजा फेला पारेको हो।


बरामद गरिएको गाँजा कसले, कहिले र कहाँ लैजानका लागि त्यहाँ लुकाएको थियो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरे पनि बरामद गाँजाको स्रोत र तस्करीमा संलग्न समूह पहिचान गर्न सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको छ।


सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसारका नयाँ तरिका अपनाइँदै आएको आशंकाबीच आँपबारीमा यसरी गाँजा लुकाएर राखिएको फेला पर्नुलाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ। बरामद गाँजालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।