काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋण प्रक्रिया सहज गरिदिने नाममा घुस लिने व्यक्तिहरूमाथि कडा कारवाही गरिने स्पष्ट चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंक अब बैंकिङ प्रणालीमा देखिने भ्रष्टाचारजन्य गतिविधि रोक्न आक्रामक ढंगले अघि बढ्ने बताए।

उनका अनुसार धितो राखेर ऋण लिने व्यक्तिहरूको सम्पत्ति लिलाम गर्दा धितो मूल्यांकन गरिँदा देखाइएको मूल्यभन्दा कम मूल्य तोक्ने प्रवृत्ति पनि राष्ट्र बैंकले अब करप्सनका रूपमा लिनेछ। उनले यस्ता अनियमितताले बैंकिङ प्रणालीप्रति आम नागरिकको विश्वास घटाउने भन्दै तत्काल सुधारको आवश्यकता औँल्याए।

गभर्नर पौडेलले विशेष गरी निजी बैंकहरूमा ऋण मिलाइदिने बहानामा हुने बार्गेनिङ र घुस–चलखेल रोक्न चुनौती रहेको स्वीकारे। सरकारी बैंकमा यस्ता गतिविधि रोक्न सजिलो भए पनि निजी क्षेत्रमा निगरानी कठिन रहेको उनले बताए।

यद्यपि उनले राष्ट्र बैंकले यस्तो गतिविधिमा संलग्न सबैलाई छानबिन तथा कारवाही प्रक्रियामा ल्याउने दृढता व्यक्त गरे। “घुस र अनियमिततामार्फत ऋण प्रणाली दूषित बनाउने कसैलाई पनि अब बञ्चित पारिने छैन,” गभर्नर पौडेलले भने।

उनको भनाइमा, पारदर्शी र न्यायिक बैंकिङ सेवा सुनिश्चित गर्न राष्ट्र बैंक निरन्तर सुधारका कदम चाल्दै आएको छ र आगामी दिनमा अझ कडाइका साथ अघि बढ्नेछ।