काठमाण्डौ । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।

आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ।

रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन्। निवेदनमा कात्तिक २ मा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उल्लेख छ। राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ।

‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उनलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ।

रास्वपाले राज्य संयन्त्रद्वारा नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको गुनासो गरेको छ ।