पोखरा । पर्यटन प्रवर्द्धन गरी छिमेकी देश भारत र चीनबाट अधिकतम मात्रामा पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’को आयोजना गरिने भएको छ ।
आगामी फरबरी २४ देखि २६ सम्म पोखरामा सो एक्सपो (मेला) आयोजना गरिने प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ।

आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्य रहनेछ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एकहजार बढीको सहभागिता रहनेछ।
उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए । ‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुन गईंरहेको एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभइ माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने पाटाले विज्ञप्तिमार्फत जनाएको छ ।
एक्स्पोका संयोजक सुनिल भट्टराईले छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एव् संघ संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे ।
नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा गत बुधबार चाइना कल्चरल सेन्टर (सिसिसी) द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको थियो ।
चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौंले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सिसिसी कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताए। उनले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गरेका छन ।
चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिए। कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवर्द्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।