काठमाडौं। लगातार ६ कारोबार दिन बढ्दै आएको नेपाली सेयर बजारले बुधबार भने विश्राम लिएको छ। नाफा सुरक्षित गर्ने लगानीकर्ताको चाप बढेपछि नेप्से परिसूचक १३।९५ अंकले घटेर २७१२ बिन्दुमा झरेको हो।

कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभर हरियो हुन सकेन। कारोबारका क्रममा नेप्से एक समय २६९४ बिन्दुसम्म झरेको थियो। अन्त्यमा केही सुधार भए पनि बजार राताम्मै बन्द भयो।

आज १९३ कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनी मात्रै बढ्न सके भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भयो, जसले लगानीकर्ताको उत्साह केही सेलाएको संकेत गरेको छ।

क्षेत्रगत रूपमा पनि अधिकांश सूचक ओरालो लागे। व्यापार, निर्जीवन बीमा, जलविद्युत्, लगानी, बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र जीवन बीमा समूहमा उल्लेख्य गिरावट देखियो। फाइनान्स र उत्पादन तथा प्रशोधन समूह भने सामान्य अंकले हरियो रहे।

बजार घटे पनि केही कम्पनीले आकर्षक प्रदर्शन गरे। एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले उकालो लाग्दा बुंगल हाइड्रोपावर, सालपा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि राम्रो प्रतिफल पाए। उता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे।

कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स र सिटी होटल सर्वाधिक कारोबार भएका कम्पनीमा परे। लगातारको उकालोपछि आएको यो करेक्सनलाई बजार विश्लेषकहरूले स्वाभाविक नाफा बुकिङको परिणामका रूपमा हेरेका छन्।