काठमाडौं / चीनको ग्वाङझाउमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ दक्षिण एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार र आर्थिक नीतिमा परिवर्तन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।
सम्मेलनमा विभिन्न देशबाट आएका गैरआवासीय नेपाली व्यवसायी, विज्ञ तथा नीति निर्माताले नेपालमा लगानीको पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, प्रशासनिक ढिलासुस्ती र लगानी सुरक्षाको अभावले विदेशी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्न कठिनाइ भइरहेको धारणा राखे।
एनआरएनएका पूर्वअध्यक्ष तथा दक्षिण कोरियामा व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँबरले नेपालमा कानुनी प्रक्रिया लामो र झन्झटिलो हुँदा लगानीकर्ताको समय र लागत दुवै बढ्ने बताए। उनले कामभन्दा प्रक्रिया धेरै हुने प्रवृत्तिले लगानी विस्तारमा अवरोध सिर्जना गरिरहेको उल्लेख गर्दै समयमै निर्णय र कार्यान्वयन हुने प्रणाली आवश्यक रहेको धारणा राखे। पूर्वअध्यक्ष उपेन्द्र महतोले विदेशमा रहेका नेपालीहरू आफ्नो देशको विकासमा योगदान गर्न इच्छुक रहे पनि त्यसका लागि सरकारले विश्वासिलो र सुरक्षित लगानी वातावरण तयार गर्नुपर्ने बताए।
उनका अनुसार गैरआवासीय नेपालीको लगानीसँगै अन्तर्राष्ट्रिय लगानीसमेत नेपाल भित्र्याउन सकिने भएकाले लगानीमैत्री कानुन र नीति निर्माण अपरिहार्य छ। एनआरएनएका वरिष्ठ उपाध्यक्ष रविन शेरचनले परम्परागत क्षेत्रसँगै नयाँ उद्योग र प्रविधिमा आधारित लगानीका अवसर पहिचान गर्नुपर्ने बताए। उनले नेपालमा नवप्रवर्तन, उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिएर आर्थिक गतिविधि विस्तार गर्न सकिने धारणा व्यक्त गरे। कोरियामा कार्यरत अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले मेडिकल प्रविधि, बायोटेक तथा प्रोटिन उत्पादनजस्ता क्षेत्रमा नेपालमा ठूलो सम्भावना रहेको बताए।
आवश्यक कानुनी सहजीकरण र अनुसन्धानमैत्री नीति भए नयाँ प्रविधिमा आधारित उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो। चीनमा कार्यरत व्यवसायी निर्मल शर्मा चौलागाईंले नेपाल–चीन व्यापार विस्तारका लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताए। उत्तरी नाकाबाट वर्षभर सहज व्यापार हुन नसक्दा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सीमा पूर्वाधार सुधारमा सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे।
पूर्वअध्यक्ष रोहित अग्रवालले लगानीकर्ताका लागि नाफा सुनिश्चित गर्ने वातावरण र कानुनी ग्यारेन्टी आवश्यक रहेको बताए। त्यस्तै, लगानीसम्बन्धी अनुसन्धानकर्ता अरुणकुमार सुवेदीले प्रशासनिक प्रक्रियालाई सरल र छिटो बनाइएन भने गैरआवासीय नेपालीको लगानी अपेक्षित रूपमा नेपाल आउन नसक्ने धारणा राखे। उनले विदेशमा रहेका नेपालीको ठूलो आर्थिक क्षमता नेपालको विकासमा उपयोग गर्न सकिने बताए। चीनका कार्यवाहक राजदूत रोशन खनालले नेपालमा लगानीका सम्भावित क्षेत्र पहिचान गर्न दूतावासले आवश्यक सहकार्य गर्ने बताइन्।
चीनमा सफल व्यवसाय गरिरहेका धेरै नेपालीले स्वदेश फर्केर लगानी गर्ने इच्छा व्यक्त गरेको जानकारी पनि उनले दिइन्।कार्यक्रममा नेकपाका पूर्वसांसद माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पनि रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति, युवा उद्यमशीलताको प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
सम्मेलनमा सहभागी अधिकांश वक्ताले नेपालमा आर्थिक समृद्धि हासिल गर्न कानुनी सुधार, प्रशासनिक सहजीकरण, लगानी सुरक्षाको प्रत्याभूति र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने साझा निष्कर्ष प्रस्तुत गरेका छन्।






































