काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले समीक्षा गर्दै जनताको विश्वास पुनः जित्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उनले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिष्ट दलहरूले व्यहोरेको पराजय अपेक्षाविपरीत रहेको र त्यसको गम्भीर समीक्षा हुन नसकेको टिप्पणी गरे।

भुसालले निर्वाचन परिणामले वाम आन्दोलनका कमजोरी उजागर गरेको उल्लेख गर्दै जनतासँगको सम्बन्ध सुदृढ बनाउन आत्मसमीक्षा आवश्यक रहेको बताए। उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न नसके आगामी दिनमा थप जटिलता र राजनीतिक दुर्घटनाको जोखिम बढ्न सक्ने चेतावनी दिए।

भुसालले वामपन्थी शक्तिहरूले विगतका अनुभवबाट पाठ सिकेर नीति, संगठन र जनसम्बन्धलाई थप प्रभावकारी बनाउँदै नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोणका साथ जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए।