काठमाडौं / यती डिस्टिलरी प्राइभेट लिमिटेडले पछिल्ला वर्षमा नाफा, ऋण व्यवस्थापन र समग्र वित्तीय अवस्थालाई मजबुत बनाएको देखिएको छ।
तर कम्पनीको आम्दानी अझै पनि केही सीमित ब्रान्डमा अत्यधिक निर्भर रहेको भन्दै रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई व्यवसायिक जोखिमको पक्षका रूपमा औंल्याएको छ। इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीको कुल आम्दानीमध्ये करिब ९१ प्रतिशत हिस्सा ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्का ब्रान्डबाट आएको छ।
यी उत्पादनले बजारमा बलियो स्थान बनाएका कारण कम्पनीको आम्दानी स्थिर रहे पनि केही उत्पादनमा अत्यधिक निर्भरता दीर्घकालीन चुनौती बन्न सक्ने मूल्यांकन गरिएको छ। कम्पनीले ह्विस्की, भोड्का, जिनलगायत विभिन्न मदिराजन्य उत्पादन बजारमा ल्याउँदै आएको छ। यद्यपि पछिल्ला तीन वर्षदेखि प्रमुख तीन ब्रान्डकै योगदान कुल आम्दानीको ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ।
आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा सामान्य घटेर ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँमा सीमित भए पनि सञ्चालन नाफा मार्जिन भने करिब ३० प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०२४ मा २२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन २०२५ मा २८ प्रतिशत पुगेको थियो। उत्पादनको मूल्य समायोजनले नाफा वृद्धि गर्न सहयोग पुगेको इक्रा नेपालको विश्लेषण छ।
कम्पनीको ऋण व्यवस्थापनमा पनि उल्लेखनीय सुधार देखिएको छ। कुल ऋण तथा मूर्त नेटवर्थको अनुपात घट्दै गएको छ भने ऋण सेवा क्षमता पनि बलियो बनेको छ। लाभांश वितरण घटाउँदा कम्पनीको तरलता अवस्था थप सुदृढ भएको मूल्यांकन गरिएको छ। यद्यपि कार्यशील पुँजीको उच्च आवश्यकता कम्पनीका लागि चुनौतीकै रूपमा रहेको छ।
विशेषगरी पुरानो ह्विस्की उत्पादनका लागि लामो समय मौज्दात राख्नुपर्ने र उधारो बिक्रीका कारण नगद चक्र लामो हुने भएकाले कार्यशील पुँजीमा दबाब पर्ने गरेको उल्लेख गरिएको छ। त्यसैगरी कच्चा पदार्थ आयातका क्रममा विदेशी मुद्रामा हुने भुक्तानीका कारण विनिमय दरको जोखिम पनि कम्पनीले व्यहोर्दै आएको छ। विदेशी मुद्रा विनिमयमा हुने उतारचढावले कम्पनीको लागत र नगद प्रवाहमा प्रभाव पार्न सक्ने इक्रा नेपालको विश्लेषण छ।
नेपालमा मदिराजन्य उत्पादनमा लागू उच्च भन्सार र अन्तःशुल्कले स्वदेशी उद्योगलाई संरक्षण गरे पनि भविष्यमा कर संरचना वा नियामकीय व्यवस्थामा परिवर्तन आए त्यसले कम्पनीको आम्दानी र नाफामा असर पार्न सक्ने आकलन गरिएको छ।
इक्रा नेपालले आगामी दिनमा कम्पनीले नाफाको निरन्तरता, ऋण सेवा क्षमता, विदेशी मुद्रा दायित्व व्यवस्थापन तथा आम्दानीका स्रोतलाई थप विविधीकरण गर्न सक्यो भने दीर्घकालीन वित्तीय अवस्था अझ मजबुत बन्न सक्ने निष्कर्ष निकालेको छ।






































