काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अहिले पुनर्गठनको होइन, पुनर्जागरणको चरणमा रहेको बताएका छन्।
झापामा आयोजित ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै उनले पार्टीको नीति, कार्यक्रम र उद्देश्य परिवर्तन नभएसम्म पुनर्गठन भन्न नमिल्ने स्पष्ट पारे। ओलीले सामाजिक सञ्जाल वा हस्ताक्षर अभियानमार्फत नेतृत्व परिवर्तनको प्रयास गर्नु पार्टीको विधि र अनुशासनविपरीत हुने बताए।
उनले नेतृत्व परिवर्तनलाई मात्रै पुनर्गठनको संज्ञा दिन नमिल्ने भन्दै एमाले आफ्नो वर्तमान मार्गमै अघि बढिरहेको उल्लेख गरे। उनले विगतमा पनि आफूविरुद्ध विभिन्न गतिविधि भए पनि पार्टीलाई जोगाउँदै अघि बढाएको दाबी गर्दै अहिले नेतृत्व परिवर्तनभन्दा पार्टीलाई थप सशक्त बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए।
ओलीले पार्टी सदस्यहरूलाई संगठनप्रति जिम्मेवार बन्न आग्रह गर्दै एमालेलाई मतदान नगर्ने सदस्यको नवीकरण नगर्न निर्देशन दिए। साथै, सक्रिय र प्रतिबद्ध नयाँ सदस्य थपेर संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कायम रहेको उल्लेख गर्दै कसैलाई दबाब वा डर देखाएर नेतृत्व सञ्चालन नगरेको दाबी पनि गरे।






































