काठमाडौं । औद्योगिक प्रयोजनका लागि लिएको करोडौं रुपैयाँको बैंक कर्जा अन्यत्र लगानी गरिएको आरोपमा बैंकिङ कसुर मुद्दा खेपिरहेका व्यवसायी दीपक भट्ट र जगदम्बा समूहका शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ। बहुचर्चित ४२ करोड रुपैयाँभन्दा बढीको कर्जा दुरुपयोग प्रकरण अब अदालतमा प्रवेश गरेको हो।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बिहीबारदेखि इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवालको बयान लिन थालिएको हो।उनीहरूविरुद्ध उच्च सरकारी वकिल कार्यालयले जेठ २८ गते बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो।

अभियोगअनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट उद्योग सञ्चालन र कच्चापदार्थ खरिदका लागि लिएको वर्किङ क्यापिटल लोन सहमतिविपरीत प्रयोग गरिएको छ। अनुसन्धानमा उक्त रकम इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा संस्थापक सेयर खरिद गर्न तथा जग्गा कारोबारमा लगानी गरिएको दाबी गरिएको छ।

अभियोगपत्रमा केही रकम दीपक भट्टको व्यक्तिगत बैंक खातामा स्थानान्तरण गरी व्यक्तिगत तथा व्यावसायिक लाभका लागि प्रयोग गरिएको आरोप पनि उल्लेख छ।यसैबीच, मुद्दा दर्ता हुँदा फरार रहेका शङ्करलाल अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बुधबार पक्राउ गरी अदालतमा उपस्थित गराएपछि उनको बयान प्रक्रिया सुरु भएको हो।

अब अदालतमा हुने बयान, प्रमाण परीक्षण र बहसपछि यो बहुचर्चित बैंकिङ कर्जा दुरुपयोग प्रकरणको कानुनी दिशा तय हुनेछ।