काठमाडौं । झापाको अर्जुनधारामा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। लालपुर्जा वितरणसँगै ती परिवार कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व स्थापित गर्न सफल भएका छन्।
जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार विशेष कार्यक्रममार्फत १८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो। वर्षौँदेखि स्वामित्वविहीन अवस्थामा बस्दै आएका स्थानीयका लागि यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
भूमि व्यवस्था मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको छ। सोही नीतिअनुसार देशका विभिन्न जिल्लामा चरणबद्ध रूपमा लालपुर्जा वितरण अभियान अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यसअघि बर्दियाको बढैयाताल र झापाकै बुद्धशान्ती गाउँपालिकाका भूमिहीन परिवारलाई पनि लालपुर्जा वितरण गरिएको थियो। मन्त्रालयले आगामी दिनमा पनि योग्य लाभग्राहीको पहिचान गरी कानुनी रूपमा जग्गाको स्वामित्व हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।
लालपुर्जा प्राप्त गरेसँगै सम्बन्धित परिवारले अब आफ्नो जग्गामाथि कानुनी अधिकार प्रयोग गर्न, बैंकबाट ऋण लिन तथा अन्य सरकारी सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।





































