काठमाडौं । एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ। बिहीबार भएको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ उसले अफगानिस्तान र घरेलु टोली जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने भएकाले नेपालका लागि समूह चरण नै चुनौतीपूर्ण बन्ने देखिएको छ।

जापानमा आयोजना हुने एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि बिहीबार समूह विभाजन गरिएको हो। ‘ड्र’ अनुसार नेपाल, अफगानिस्तान र जापान समूह ‘ए’ मा परेका छन्।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन्। यता एसियाका शीर्ष वरीयताका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने सिधै क्वाटरफाइनलमा पुगेका छन्।प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका उत्कृष्ट दुई टोलीले अन्तिम आठमा स्थान बनाउनेछन्। त्यसैले नेपालले क्वाटरफाइनल पुग्न अफगानिस्तान वा जापानमध्ये कम्तीमा एक टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गर्नुपर्नेछ।

नेपालले अघिल्लो संस्करण २०२२ मा ऐतिहासिक रूपमा क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो। त्यसबेला भारतसँग पराजित हुँदै नेपालको चुनौती समाप्त भएको थियो।

यसपटक भने नेपालले सिंगापुरमा सम्पन्न छनोट प्रतियोगितामा अपराजित रहँदै एसियन गेम्सको टिकट सुरक्षित गरेको थियो। अब टोलीले जापानमा हुने प्रतियोगितामा अघिल्लो प्रदर्शनलाई अझ सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।