काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ। नेपाल आयोजक जापान र इन्डोनेसियासहित समूह ‘ए’ मा परेको छ। बलिया टोलीसँगको प्रतिस्पर्धाले नेपालका लागि समूह चरण नै चुनौतीपूर्ण हुने देखिएको छ।
एसियाली भलिबल महासंघ ९एभीसी० ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल महिला टोली समूह ‘ए’ मा समावेश भएको हो। यस समूहमा आयोजक जापान र इन्डोनेसिया नेपालका प्रतिस्पर्धी रहनेछन्।अन्य समूहतर्फ समूह ‘बी’ मा चीन, कजाकिस्तान र फिलिपिन्स रहेका छन् भने समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, किर्गिस्तान र मंगोलिया छन्। समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार परेका छन्।
नेपालको महिला टोली अहिले प्रतियोगिताको तयारीस्वरूप बन्द प्रशिक्षणमा व्यस्त छ। अघिल्लो संस्करणमा ११औँ स्थान हासिल गरेपछि नेपालले यसपटकको एसियाडमा स्थान सुरक्षित गरेको हो। २०औँ एसियाली खेलकुद जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर १९ सम्म आयोजना हुनेछ। नेपालले यसपटक बलिया प्रतिद्वन्द्वीबीच उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउनेछ।






































