काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा ‘प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गर्ने तयारी सुरु भएको बताएका छन्। उनले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै योग्यता र प्राज्ञिक स्वतन्त्रतामा आधारित प्रणाली विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याए।
त्रिभुवन विश्वविद्यालयको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सहकार्य विस्तार गर्न विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी दिए।
उनका अनुसार प्रस्तावित कार्यक्रममार्फत विदेशी प्राध्यापक नेपालमा अध्यापन गर्न आउनेछन् भने नेपाली प्राध्यापकले पनि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धान गर्ने अवसर पाउनेछन्। यसले त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको ‘एक्सिलेन्स सेन्टर’ बनाउने लक्ष्यलाई टेवा पुग्ने विश्वास सरकारले लिएको छ।
मन्त्री पोखरेलले अब विश्वविद्यालयमा सरुवा, बढुवा र नियुक्ति राजनीतिक भागबन्डाबाट होइन, योग्यता र प्रतिस्पर्धा (मेरिटोक्रेसी) का आधारमा हुने बताए। यदि कुनै राजनीतिक दबाब आए शिक्षा मन्त्रालयलाई सिधै जानकारी गराउन पनि उनले विश्वविद्यालय प्रशासनलाई आग्रह गरे।
उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता सुनिश्चित गर्ने तथा पाँच वर्षभित्र उच्च शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने सरकारको योजना रहेको बताए।
मन्त्रीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित सम्पत्ति फिर्ता ल्याउने, सुशासन सुदृढ गर्ने र अनुसन्धानमुखी तथा व्यावसायिक उच्च शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।




































