महोत्तरी । महोत्तरीको बर्दिबास–१२ बिजलपुरामा सर्पको टोकाइबाट एक ८ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा विवेक कापर रहेका छन्। आमाको काख र परिवारको आशा बनेका विवेकको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो।

जानकारीअनुसार बुधबार साँझ घर नजिकैको आँपको रूखमा फल टिप्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।

घटनालाई झन् पीडादायी बनाएको पक्ष भने परिवारको आर्थिक अवस्था हो। अत्यन्त विपन्न परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट आफ्नै छोराको शवसमेत बुझ्न सकेका छैनन्।

घटनाबारे जानकारी पाएपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री अस्पताल पुगेर आवश्यक समन्वय र सहयोगको पहल थालेका छन्।

एउटा सर्पदंशले केवल एक बालकको ज्यान मात्रै लिएन, गरिबीका कारण एउटा परिवारलाई आफ्नै सन्तानको अन्तिम बिदाइ गर्नसमेत असहाय बनाइदिएको छ।