काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा आठ वर्षअघि निर्माण गरिएको सडक योजनामा कम काम गरेर बढी काम भएको देखाउँदै सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरिएको बेलकेढुङ्गा–लेखनवाडा–दुर्सी पागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। कागजमा १,२०० घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गरी कार्यसम्पन्न प्रतिवेदन तयार पारियो र त्यसकै आधारमा ३८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरियो।
तर, अख्तियारको प्राविधिक टोलीले घटनास्थलमै पुगेर गरेको नापजाँचमा ९३९.५० घनमिटर मात्र काम भएको पुष्टि भयो। अर्थात् २६०.५० घनमिटर काम कागजमै थपेर झुटो बिल र नापी किताब तयार गरिएको निष्कर्ष आयोगले निकालेको छ।
अनुसन्धानबाट ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बराबरको सरकारी रकम अनियमित रूपमा भुक्तानी भएको देखिएपछि तत्कालीन गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, प्रशासकीय तथा प्राविधिक कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी गरी १० जनाविरुद्ध बिगो, जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियारले विकास निर्माणका नाममा कागजमा काम बढाएर सरकारी रकम दुरुपयोग गर्ने प्रवृत्तिमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ।





































