सिरहा । कर परीक्षणको नाममा सेवाग्राहीसँग लाखौँ रुपैयाँ घुस मागेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा परेका छन्। ५ लाख रुपैयाँ घुस बुझ्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयभित्रै रंगेहात पक्राउ गरेको हो।

स्रोतका अनुसार आर्थिक वर्ष २०७८-७९ को पूर्ण कर परीक्षण ९फुल अडिट० गरिरहेको एक कम्पनीसँग पालले सुरुमा १२ लाख रुपैयाँ मागेका थिए। रकम दिए कर परीक्षण सहज बनाइदिने र माथिल्लो तहका कर्मचारीलाई पनि मिलाउनुपर्ने भन्दै उनले आर्थिक लेनदेनको प्रस्ताव राखेको आरोप छ।

कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि कथित ‘बार्गेनिङ’ हुँदै रकम ५ लाख रुपैयाँमा झारिएको बताइएको छ। त्यसपछि रकम बुझाउने समय र स्थान तय गरिए पनि सेवाग्राहीले अख्तियारलाई जानकारी दिएका थिए।

अख्तियारको योजनाअनुसार सेवाग्राहीले रकम कार्यालयमै पुर्‍याएपछि घुस लिँदै गरेका कर अधिकृत पाललाई टोलीले तत्काल नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार अडिटका क्रममा कम्पनीलाई करिब २ करोड रुपैयाँसम्म कर दायित्व देखाइएको थियो। थप कागजातका आधारमा कर रकम अझ बढ्न सक्ने संकेत दिँदै आर्थिक लाभ लिन खोजिएको आरोप पनि अनुसन्धानको विषय बनेको छ।

अख्तियारले घटनामा अन्य कर्मचारी वा बिचौलियाको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।