काठमाण्डौ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।

लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।शाही मानवअधिकारकर्मी तुलसी थापासहित आज कास्की पुगेका हुन् । चितवनमा बयान लिएर सकिएको दिन लामिछानेलाई मध्यराति पोखरा पुर्याईएको समाचार बाहिरिएको छ ।

धेरैले लामिछानेमाथि प्रहरीले धरपकड गरेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेका छन् ।  लामिछानेको मानवअधिकारको रक्षाको लागि माग गरेका छन् । यही सन्दर्भमा शाही पनि आज लामिछाने भेट्न कास्की पुगेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा ल्याउँदा उच्च रक्तचाप भएको पाइएको छ। ‘अस्वभाविक’ शैलीमा चितवन हिरासतमा मस्त निद्रामा रहेका रविलाई मध्यरातमा प्रहरीले उठायर पोखरा पुर्याएको थियो ।

पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। ‘मेरो ब्लड प्रेसर १८०/९० रहेछ। यस्तो बेला जे पनि हुन सक्थ्यो,’ लामिछानेले मानव अधिकार आयोगको टोलीसँग भनेका थिए, ‘चितवनमा स्वास्थ्य परीक्षण गरौं भन्दा पनि प्रहरीले मानेन।’चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा पनि नमानेर दुर्व्यवहार गरेर पोखरा ल्याएको लामिछानेले आयोगको टोलीलाई बयान दिएका छन्। मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको लामिछानेको आरोप छ।