कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारको एउटा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।
अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मृतक डिल्लीशेर राईले सञ्चालन गरेको वान्तवा होटलमा बिहीबार बेलुका आएर सुतेको थिए ।
सुतेकै ठाउँमा शुक्रबार बिहान ५ः३० बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताए । उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ ।
मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।






































