काठमाण्डौ   ।    नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीचको सहकार्य ५ दशक पुगेको हो । यसै अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका छन । 

OM Sai Pathibhara Hospital

फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजना गरिएको फोटो प्रदर्शनी मंसिर १८( डिसेम्बर ३)देखि २४ गते(डिसेम्बर ९)सम्म चल्नेछ। फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएका छन। 

सो प्रदशनीको उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पु‍र्याएकोमा एडीबीलाई धन्यवाद दिए।

एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरणलाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए। त्यस्तै उनले न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने देशका रूपमा  पुगेको बताए।

नेपाल प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताए। उनले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु‍र्याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए। फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र बियोन्ड द मिटर गरी ४ भागमा विभाजन गरिएको छ।