काठमाडौं— भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । र, सोही दिन काठमाडौंबाट फर्किने छन् ।
बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ ।
भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।
भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना रहेको छ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९:१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । सोही दिन ११:३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने र शुक्रबार बिहान ८ बजे भारतबाट फिर्ता हुने तालिका छ ।
भारत भ्रमण सकेपछि उनी काठमाडौंमा केहीबेर बिताएर फर्किने बताइएको छ ।