काठमाण्डौ  ।  देशभरका सबै जिल्लामा पेट्रोल पम्प पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा  पम्प सञ्चालन गर्ने तयारी थालेको हो।

प्याक्ट बिक्रेताको माध्यमले बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । त्यस क्षेत्रमा अहिलेसम्म पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन ।

OM Sai Pathibhara Hospital

उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी गराएका छन।उनले भने निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपूर्व, मनाङ र मुस्ताङ जिल्लामा कम्तीमा एउटा पम्प खोल्ने योजना बनाएको छ । भट्टका अनुसार पहिलो चरणमा निजी क्षेत्रका लागि खुला गरिनेछ । निजी क्षेत्र इच्छुक नभए निगम आफैंले सञ्चालन गर्ने तयारी थाल्ने छ ।

निगमले अहिले विवरण संकलन गरिराखेको जनाएको छ । ‘इजाजत लिएर सञ्चालन नगरेको पनि हुन सक्छ । महँगो भएका कारण सञ्चालन नभएको पनि हुन सक्छ । यी सबैको खोजी भइराखेको छ,’ निगमका प्रवक्ता पूर्ण रिजालले भनने , ‘साधारण पम्प नभएका जिल्लामा पहिलो प्राथमिकतासहित छिट्टै सूचना प्रकाशन गर्नेछौं । पूर्वाधार पुर्‍याउन सक्नेले पम्प सञ्चालन गर्न सक्छन् ।’

पम्प सञ्चालनका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली १९८८ मा स्पष्ट व्यवस्था गरिएको छ । अहिले प्राथमिकतामा परेका १० जिल्लाको हकमा ‘ग’ वर्गका पम्प सञ्चालनको अनुमति दिइनेछ । विनियमावलीअनुसार ‘ग’ वर्गका पम्प सञ्चालन गर्न जग्गाको क्षेत्रफल कम्तीमा १२०० वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी ६ आना (पहाडी भेग) भई सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्छ । बिक्री स्थल हाताभित्र विभिन्न सुविधायुक्त मास्टरप्लान नक्साबमोजिम कम्तीमा ७६ वर्ग मिटर ‘प्लिन्थ क्षेत्रफल’ को पक्की बिक्री कक्ष भवन निर्माण गरेको हुनुपर्ने छ ।

प्रस्तावित बिक्रीस्थलको राजमार्गको ‘क्यारेज वे’ देखि ‘एप्रोच यार्ड’ तथा पार्किङ स्थलको पेभमेन्ट ब्याकटप कंक्रिट वा इन्टरलकिङ कंक्रिट टायलले फिनिसिङ गरेको हुनुपर्छ ।