काठमाण्डौ । गत जुनमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि बताइयो।
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट सो जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले बताइन ।
“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस फेला पारेनाैा”, उनले भने, “यदि सो भाइरस सङ्क्रमण भएको स्थितिमा खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गराैँ ।”
गत जुनमा काठमांडू महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचा खोलाको सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा समेत त्यो पुनः फेला नपारिएको बताए । सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमांडू भ्यालीका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस् प्रकारको परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए । काठमांडू भ्याली बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट समेत नमूना संकलन गरेर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको बताइन्छ ।
सन् २०१० यता देशमा पोलियो सङ्क्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षणहरु देखिन्छन् ।