सिन्धुपाल्चोक  ।   दसैँ, तिहार र जाडो मौषमका लागि आबश्यक चिनियाँ सामान नेपाली व्यापारीले चिनियाँ क्षेत्रमा अडकिएकै कारण काठमांडू ल्याउन सकिरहेका छैनन । ती अड्किएका सामानमा फलफूल र जाडो मौषमका लत्ताकपडाहरु रहेका छन् । सेप्टेम्बर २७को अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको पनि दुई महिना बित्न लागेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायीहरु चिन्तित रहेको को सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले गुनसो पोख्छन ।

 फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन डेट आउट हुने अवस्था आएपछि ती सामान शीघ्र काठमांडू ल्याउनका लागि वातावरण तयार पार्न व्यापारी व्यवसायीले सरकार समक्ष हार हार गुहार गरेका छन्। खासाको चिनियाँ अध्यागमन कार्यालयले एक घण्टामा एउटा कन्टेनर जाँच गरेर छाड्ने गरेको छ । त्यसैले पनि खासातर्फ १५० भन्दा बढी कन्टेनर लाइनमा रहेका छन् । फलफूलका ३० भन्दा बढी कन्टेनर र दुई हजारभन्दा बढी लत्ताकपडाका कन्टेनर केरुङ गोदाममा अथन्किएर बसेको छ । 

OM Sai Pathibhara Hospital

खासामा सडक निर्माण र सहर पुनर्निर्माणलाई देखाएर तातोपानी भित्रिन लागेका कन्टेनर महिनौँसम्म सो  क्षेत्रको सडक किनारामा रहेका छन् । पार्किङ भाडा, चालक, सहचालकलाई खाने, बस्ने व्यवस्थालगायतका कारण लागत बढ्दै गएको छ । केरुङमा रहेको कोल्डस्टोर गोदाम भरपर्दो नभएकाले फलफूल कुहिने अवस्थामा पुगेको छ । 

कुहिन र सिजन आउट हुन नदिन केही व्यापारीले बढी भाडा तिरेर भए पनि सामान काठमांडू लैजाने तयारी गरिरहेका छन् । यसको मार उपभोक्तालाई पर्ने निश्चित छ ।

खासा, ल्हासा क्षेत्रमा पनि सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीले भाडा बढाउने तयारीमा छन् । महिना दिनभन्दा बढी पालो कुरेर बस्नु पर्ने बाध्यता छ l त्यसले गर्दा खर्च बढी उठेकाले भाडा पनि बढाउन लागिएको ती कम्पनीले जनाएका छन् । खासामा सडक र पुनर्निर्माण भइरहे पनि रोकिएका कन्टेनर सबै छाड्न चिनियाँ पक्षसँग पटक पटक आग्रह गरिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारीले जानकारी दिए ।