काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बिहिबार बयान सकिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको बयान सकिएको हो । लामिछानेसँग तीन दिनमा २३ घण्टा बयान लिइएको छ ।
बयान सकिएसँगै उनलाई आज शुक्रबार बिहान पहिलो उडानमार्फत पोखरा लगिने छ । उनलाई बिहीबारै पोखरा लैजाने तयारी भएको भए पनि बयान भएका कागजी प्रक्रिया मिलानमा ढिलाई हुँदा पोखरा लैजान नसकिएको रुपन्देही प्रहरीले जनाएको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा ल्याइएर त्यही दिनै बयान शुरू गरिएको थियो ।
पोखरा हिरासतबाट रविलाई बयानका लागि भैरहवा लगिएपछि रास्वपा कार्यकर्ताहरूले भैरहवामा पनि प्रदर्शन गरेका थिए । उनीहरूले तीनै दिन प्रदर्शन गरे । उनीहरूले बिहीबार बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली समेत गरेका थिए ।