दमक । सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक भनिने ‘दमक भ्यु–टावर’ संचालनमा अझै अन्योलता रहेको छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यस समय स्थानीय नागरिकहरु टहल्ने स्थल मात्र बनिरहेको छ । टावर संचालनका सम्बन्धमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको कारणले यसक़ो ब्यबस्थापन गर्न असहज भएक़ो स्थानीयको भनाइ छ । संचालनका सम्बन्धमा सहरी विकास मन्त्रालयमा छलफल चलिरहेको उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।
दमक टावर र काठमांडूको धरहरा एउटै मोडालिटीमा संचालन गर्नेगरी छलफल भइरहेको उनले बताए । करिब एक अर्ब ४५ करोडमा निर्माण भएको टावर मन्त्रालयबाट मोडालिटी र कार्यविधी टुंग्याएर उद्घाटन र सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । तर दमक नगरपालिकाको नेतृत्वमा अन्य पार्टी भएका कारण भ्यू टावरको स्वामित्व कसले लिने भन्ने बिषयमाअझै अन्योलता रहेको स्थानीयको भनाई छ । दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख र कांग्रेसका उपप्रमुख छन् ।
सरकारले २०१९ मा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको थियो तर लागत बढेर एक अर्ब ४५ करोड पुगिसकेको छ । दमक बजारबाट करिब तीन किलोमिटर उत्तर पश्चिमको दापगाछीमा रहेको टावर ५ बिघा क्षेत्रमा फैलिएको छ । सो स्थानमा पुग्न पूर्वाधारको अभाव देखिएको छ।
टावरभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको संस्कृतिक संग्राहलयलगायतका कार्यालयहरु राखिने जनाइएको छ । तर भ्यू टावरसम्म पुग्न पूर्वाधारको अभाव भएकाले समस्या थप बढेर गएको छ । सडक कच्ची छ । पूर्वाधार निर्माणका लागि अझै ५० करोडजति बजेट लाग्ने भएकाले संचालन अझै पर धकेलिने अनुमान गरिएको छ ।
केही पूर्वाधारविदहरुले भने टावर निर्माणका विषयलाई लिएर आलोचना समेत गर्ने गरेका छन् । टावर अनुचित र अनुपयुक्त स्थानमा निर्माण गरिएकाले संचालनमा कठिनाइ हुने अनुमान उनीहरुले गरेका छन् ।