रुपन्देही  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको बयान साँझ ७ बजे सकिएको हो ।

दोस्रो दिन लामिछानेलाई ६० वटा प्रश्न सोधिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भोलि बिहीबार पनि  बयान लिइने क्रम जारी रहने प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान लिइएको छ । बयान सकिएपछि गएराति लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने बुधबार पनि सोही कक्षमा राखिने प्रहरीले जनाए ।

रविको बयान चलिरहदा सहकारीपीडित र रास्वपाको विरोध भने अदालत परिसर बाहिर जारी थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लगिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । प्रतिवेदनअनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक २ कात्तिकमा पाँच दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक सात र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।