काठमाडौं- मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ ।

सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार गुरुङलाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा बोलाएर पाँच घन्टा घटनाबारे सोधपुछ गरेर कागज गराइएको हो । 

OM Sai Pathibhara Hospital

सहकारीमा बचतकर्ताको रकम दुरुपयोग घटनामा गुरुङ पत्नी ज्योतीविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ पुगेको प्रहरीको भनाइ छ ।

प्रहरीको अनुसन्धानका क्रममा ज्योतीले १६ जना रकम संकलनकर्ताले ल्याएको रकममध्ये १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएको खुलेको छ । प्रहरीले भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गराएको छ ।

ज्योतीले २०५७ सालबाट यो सहकारीमा बचत संकलनकर्ताका रुपमा जागिर सुरु गरेकी थिइन् । राजनीतिक पहुँच तथा संस्थाका पदाधिकारीहरुको विश्वास जित्दै गएपछि उनी २०७० सालमा कोषाध्यक्ष बनिन् । पछि महाप्रबन्धक समेत बनिन् ।