काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल १५ दिनभित्र नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निणर्य बमोजिम अहिले उद्योगहरुमा लाइन जोडिएको बताए । सरकारले १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएकाले त्यसको कार्यान्वयन आफूले सुरु गरेको उनको भनाई छ । 

OM Sai Pathibhara Hospital

‘सरकारको निर्देशन अनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ।

१५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उनको तर्क छ । 

‘हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो,’ घिसिङले भने ।

यसअघि पनि तीन पटक लाइन काटेकोमा सरकारले गरेको निणर्य अनुरूप जोडिदिएको र अहिले पनि त्यही गरेको प्राधिकरणले जनाएको छ ।