काठमाडौं–सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी १२ वर्षअघि फरार भएका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार इनरुवा–५ बलहाका यादवलाई शुक्रबार सार्वजनिक गरिएको छ।

कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैद भुक्तान गरिरहेका यादव २०६९ कात्तिक २३ गते झुम्का कारागारबाट ११ अन्य कैदीसहित फरार भएका थिए। विसं २०६५ वैशाख १६ गते यादव र श्यामकुमार यादवले प्रकाशपुर–६ का केशव कार्कीलाई गोली प्रहार गरेका थिए, जसको उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते उनलाई २० वर्ष ८ महिना १४ दिनको कैद सजाय सुनाएको थियो।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार, विनायक लामो समयदेखि भारतको सुपौलस्थित रानीगञ्जमा लुकेर बसेका थिए। छठ पर्व मनाउन नेपाल आएका बेला उनलाई पेस्तोल र ११ राउन्ड गोलीसहित पक्राउ गरिएको हो। झुम्का कारागारबाट फरार अन्य ११ जना अझै फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।