काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।
बिहीबार सिचुवान एयरलाइन्सको विमानले दोस्रो पटक पोखरा विमानस्थलमा उडान भरेको हो ।
यसअघि सोही एयरलाइन्सले ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको थियो । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।
पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो ।
सिचुवानले एयरबस ३१९ जहाजबाट १२० जना यात्रु बोकेर पोखरामा उडान गरेको हो ।
नियमित र व्यावसायिक अन्तरराष्ट्रिय उडान हुने ठूलो आसाका साथ करिब २६ अर्बको लागतमा निर्माण भएको विमानस्थलमा २ वर्षसम्म पनि नियमित व्यावसायिक उडान हुन नसक्दा पोखरा र आसपासको क्षेत्रका पर्यटन व्यवसायीहरू खुसी छैनन् ।
विमानस्थलमा नियमित उडान गर्नका लागि पोखराका व्यवसायीहरूले विगतदेखि सरकार र राजनीतिक दलहरूसँग भेटेर प्रयास गरेपनि सार्थकता पाउन सकेको छैन ।