काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौको कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरी अर्घ्य दिएका छन् । 

हरेक वर्ष छठ पर्वका अवसरमा राष्ट्रपतिले गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ । 

OM Sai Pathibhara Hospital

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व गुह्येश्वरी-गौरीघाट, कमलपोखरी, थापाथली लगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । 

छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरिएको छ । 

यी स्थानमा छठ घाटसँगै छठी माताको माटोको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ । बिहिबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु शुक्रवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । 

बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सम्पन्न हुन्छ । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराण लगायत ग्रन्थमा उल्लेख छ ।