काठमाडौं- विश्व बैंकको सहयोगमा नेपालमा बन्ने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार बसेको बैठकले पूर्व पश्चिम राजमार्गको वाग्मती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार,विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निणर्य गरेको हो । 

OM Sai Pathibhara Hospital

यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ पहुँच तथा उत्थानशीलताको लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निणर्य भएको छ ।

विश्व बैंकको सहुलियतपूणर् ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुवरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाइ पूर्व तयारीका काम सक्ने निणर्य पनि गरेको छ ।

तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरु पेस गरिने छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजना पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकता साथ लाग्न निर्देशन दिए ।

नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने उनले बताए ।

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारी उपस्थित थिए ।