काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।
त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।
यसैबीच सांसद गुरुङको कैद फैसला सर्वोच्चले सदर गरेपछि गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले कानुन व्यवसायीसँग परामर्श गर्ने तयारी गरेका छन् ।
सर्बोच्चको फैसला आएसँगै उनले निलम्बन लगायतका विषयमा कानुनविदसँग परामर्श गर्ने तयारी गरेका हुन् ।
उनले कानुन अनुसार नै आफू अघि बढ्ने बताएका छन् । ‘यो मेरो व्यक्तिगत कुरा होइन, अदालतको कुरा हो । कानुनले जे भन्छ, त्यही हुन्छ,’ उनले भने ।