काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी भएका छन् ।
सोमबारदेखि संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लासगोमा सञ्चालन भएको इन्टरपोलको ९२ औं महासभामा नेपालबाट आईजीपी कुँवर सहभागी भएका हुन् ।महासभा २२ गतेसम्म चल्नेछ । यो महासभा विश्वभरका कानून प्रवर्तन एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सहयोग, र सुरक्षा प्रविधिमा आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च हो ।
महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् ।
१९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।