पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।
आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ । सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुई पटक म्याद थप गरिएको थियो ।
सभापति लामिछानेलाई आज अदालत लैजाने भएपछि पोखरामा रास्वपाले प्रदर्शन गर्न लागेको हो । मंगलबार बिहान १०ः३० बजे पोखराको जिरोकिमीस्थित घण्टीघरबाट प्रदर्शन शुरु हुने सो पार्टीले जनाएको छ ।
रुपन्देही प्रहरीले पत्र पठाएकोले लामिछानेलाई त्यसतर्फ लैजाने प्रहरीको तयारी छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको छ।