काठमाडौं — काठमाडौं उपत्यकामा बिहानैदेखि परेको वर्षाले जनजीवन र हवाई उडानमा असर पुर्याएको छ। कमजोर भिजिबिलिटीका कारण काठमाडौंबाट तराई क्षेत्रतर्फका उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रतर्फको अधिकांश उडान रद्द भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला लगायतका दुर्गम गन्तव्यमा बाक्लो तुवालोका कारण उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। आन्तरिक उडानमा इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) मात्र सञ्चालनमा छन् भने भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान सम्भव नभएको विमानस्थल प्रशासनले जनाएको छ।

OM Sai Pathibhara Hospital

विपरीत मौसमका कारण उडान प्रभावित हुँदा विभिन्न गन्तव्यमा हिँडेका पर्यटक काठमाडौं विमानस्थलमै अलपत्र परेका छन्।

जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल नजिकै रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।