काठमाडौं–सरकारले विभिन्न सेवा-सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको चहलपहल बढेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, गत एक वर्षमा ६ हजार ५५६ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन्।
कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० भन्दा बढी सेवाग्राही आउने गरेका छन्। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्, जिल्ला प्रशासन कार्यालयका प्रमुख रामबहादुर शाहीले जानकारी दिनुभयो।
जिल्लाका आठवटै स्थानीय तहमा पुगेर राष्ट्रिय परिचयपत्र बनाउने टोली परिचालन गरिएको छ। साथै, स्वदेशमा रोजगार सम्भावना न्यून भएकाले विदेश जाने तयारीमा राहदानी लिनेको सङ्ख्या पनि बढेको जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटले जनाएको छ।