काठमाडौं–महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज भैयादुज पर्व उल्लासमय रूपमा मनाइँदैछ। यो पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सौर्यवृद्धि र कल्याणको कामना गर्दै पूजन गर्ने मैथिल परम्परा छ। विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा निम्त्याई पिठारले अरिपन बनाएर सप्तरङ्गी टिका लगाइदिन्छन्। दाजुभाइलाई बजरी खुवाउने परम्परा पनि यस पर्वमा विशेष छ, जसको अर्थ दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना गर्नु हो।
मैथिल लोकपरम्परामा यमपञ्चकको यो अन्तिम दिन भैयादुजलाई खास महत्व दिइन्छ, जसमा दाजुभाइले आफ्ना दिदीबहिनीलाई नयाँ वस्त्र र दक्षिणा प्रदान गर्दछन्। यस परम्पराले दिदीबहिनी र दाजुभाइबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने विश्वास रहेको छ।