काठमाडौं–लामो समयको प्रतिक्षापछि, हिमालपारीको मुस्ताङ जिल्लाको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याएको छ। यो कार्यालय गत बुधबारदेखि सक्रिय भएको हो। उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, र सुरक्षा निकायका प्रमुखहरू कोरला पुगेका थिए ।

यस अवसरमा, गृहमन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सफल भएको बताए । उनले नाकाबाट अब चीन र नेपालका नागरिकहरूले भिसा सेवाको माध्यमबाट आवतजावत गर्न सक्ने विश्वास दिलाए । यसअघि, आवतजावतका लागि मात्र प्रवेश पत्रको आधारमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

OM Sai Pathibhara Hospital

लेखकले यस कार्यालयको सञ्चालनलाई सरकारको ऐतिहासिक उपलब्धि मान्दै भविष्यमा यसका लागि पूर्वाधार विकास र सेवा विस्तारमा जोड दिने विश्वास व्यक्त गरे । उनले कोरला नाकालाई मुस्ताङ र गण्डकी प्रदेशको लाइफ लाइन र नेपालका लागि महत्त्वपूर्ण नाका बनाउनको लागि प्रयास गर्ने योजना रहेको बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन र धार्मिक पर्यटनको गन्तव्यको रूपमा यसको विकास हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।