काठमाडौं–यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, आज लक्ष्मीपूजा गरिंदै छ। ऐश्वर्य, सम्पन्नता र धन-धान्यकी देवी लक्ष्मीको कृपा पाउनको लागि यो पूजा विशेष मानिन्छ। आज घर सफासुग्घर बनाएर दीपावली र पूजा तयारी गरिन्छ।

घरलाई लक्ष्मीपूजाका लागि विशेषरूपमा सजाइन्छ। सफा गरिएको घरका झ्याल, ढोका, चोटा, अटाली, सङ्घार र भर्‍याङलगायतका स्थानलाई गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीका पाइलाहरू बनाई लक्ष्मी आगमनको मार्ग देखाइन्छ। घरलाई झिलीमिली पार्न पालाको दीयो बाल्ने परम्परालाई आजकल धेरै ठाउँमा मैनबत्तिहरूले बदल्दै लगिएको छ।

OM Sai Pathibhara Hospital

साँझ आँगनदेखि पूजा गर्ने कोठासम्म दीपमालिका सजाइएपछि पूजा विधि प्रारम्भ हुन्छ। पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेरको स्थापना गरी लक्ष्मीलाई आह्वान गरिन्छ। लक्ष्मीलाई मखमली, सयपत्री फूलमालाले सजाएर, गरगहना, पैसा, धान, चामल, फलफूल, मिठाइ र सेलरोटी चढाएर पूजा गरिन्छ।

पूजापछि घरकी नारीहरूले लक्ष्मीप्रतिको श्रद्धा र भक्तिका रूपमा नाङ्लो ठटाएर "अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस्" भन्ने कामनासहित सम्पूर्ण नकारात्मक ऊर्जा हटाउने परम्परा रहेको छ। यसपछि भैलो खेल्ने चलन छ, जसमा युवतीहरूले समूहमा घरघरमा भलो होस् भन्दै भैलो गाउने गर्छन्। भगवान विष्णुले यमपञ्चकमा बलिराजालाई त्रिलोक शासनको वरदान दिएको सम्झनामा घरघरमा भैलो खेल्ने परम्परा बसेको मान्यता छ।

लक्ष्मीपूजाको यस अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कतिपय कुल परम्पराअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन मात्र गाईको पूजा गर्नुपर्ने मान्यता छ।