काठमाण्डौ  ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ५ बजे  मन्त्रिपरिषद्को  बैठक बस्दै छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको भने छैन।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए।

OM Sai Pathibhara Hospital

कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिसकेको छ। 

लामिछानेविरुद्ध म्याप भएसँगै यता बालुवाटारमा कांग्रेस र एमालेका नेतृत्व तहका नेताहरु थप रणनीति बनाउन छलफलमा हिजैबाट जुटेका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, नेताहरु शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए ।

कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा र नेतृ डा। आरजु राणा सहभागी थिईन् । हिजोको बालुवाटार बैठकबाट नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उच्चस्तरको समझदारी बनेको चर्चा थियो ।

उता नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन् । उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन् । उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएको बुझिएको छ।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।