काठमाडौं— सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रबार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । सुनको भाउ शुक्रबार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

OM Sai Pathibhara Hospital

भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।