काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिन्धुलीका युवराज पौडेल(सफल) ले आज उजुरी दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीविरुद्ध विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो। देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको भन्दै सफलले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने।’
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराउनुका साथै भवन पनि बनाइदिने भनेका छन् । त्यसपछि पछिल्लो समय यो विषय निकै विवादित बनेको छ।
पार्टी कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएपछि एमालेले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ।’
पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ।
विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उनलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।









































