काठमाडौं— डडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हो । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ ।

OM Sai Pathibhara Hospital

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । 

दुर्घटनालगत्तै पुर्चौडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो । नाबालक, सहदेव र कमला एकै परिवारका रहेका प्रहरी निरीक्षक बमले जानकारी दिए ।

बसमा १७ जना रहेकामा चालक बैतडीको पुर्चौडी–८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् । उनीहरू सबैको धनगढीमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।