काठमाडौं— दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौं उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैंमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाडौंमा भिडभाड बढ्न लागेको छ ।

OM Sai Pathibhara Hospital

काठमाडौं उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैंमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् । कतै सडक एकतर्फी मात्रै खुलेका छन् भने दुईतर्फी खुलेका सडक पनि धुलाम्मे र हिलाम्मे छन् । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने भरपर्दो मानिएको बीपी राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाएपछि यो सडकको यात्रा अनिश्चित छ ।

अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रुपमा चलाए पनि बेला बेला झर्ने सुक्खा पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ । साना नीजि गाडी चलेपछि ठूला सार्वजनिक गाडी बीपी राजमार्ग हुँदै चल्न सकेका छैनन् । ठूला गाडी नचलाउन र साना गाडीमा पनि फोर ह्विलर चलाउन सडक विभागले आग्रह गरेको छ ।

बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाडौं आउने गाडीका कारण हेटौँडा–काठमाडौं छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामो जाम हुने गरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाडौं आउने सडक भने ठिकठाक रहेको छ ।

यस्तै, काठमाडौं–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ ।