काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दशैंको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

OM Sai Pathibhara Hospital

‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु’, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने छन । उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।आज बडादसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ।