काठमाडौं— प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दशैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।

एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दशैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दशैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।

OM Sai Pathibhara Hospital

तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दशैंमा स्थानीय रुपमा छलफल गर्न भनेका छन् । उनीहरुले जनताका सुख दुःखमा सहभागी हुनु पार्टीका नेता तथा कार्यकर्ताको कर्तव्य भएको भन्दै गाउँ गएको अवसरमा जनसम्पर्क बढाउन निर्देशन दिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेलले नेपाली हिन्दूहरुको महान् चाड दशैंको मुखमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा आएको बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै पीडितको दुःखमा सहभागी हुन सर्कुलर गरेका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गाउँ जाने नेता, कार्यकतालाई जनताको दुःखमा सहभागी हुन सर्कुलर जारी गरेको बताए । उनले जिल्ला र स्थानीय कमिटीले स्थानीय विशेषताअनुसार दशैंमा कार्यक्रम गरिरहेको बताए । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं खल्लो भएको भन्दै सकारले राहत दीर्घकालीन पुनर्वासको काम जारी राखेको बताएका छन् । 

कांग्रेसले स्थानीय जनसम्पर्क बढाउन उद्देश्यले सुरु गरेको सय दिने अभियानसँगै जोडेर नेता तथा कार्यकर्तालाई दशैंको अवसरमा जनताका सुख, दुःखसँग जोडिन आग्रह गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

उनले कांग्रेस विगतदेखि नै ठूला चाडपर्वमा जनताको भावनासँग जोडिएको उल्लेख गर्दै यसपटकको ठूलो धनजनको क्षति भएकाले उल्लासमय तरिकाले मनाउन नसकिने बताए ।

माओवादीले लिखित रुपमै शुभकामना आदानप्रदान कार्यक्रम नगर्न निर्देशन दिएको छ । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दशैंको मुखमा आएको बाढी, पहिरोले मुलुकका विभिन्न सहरबाट गाउँ जान सहज नभए पनि जोखिम मोलेर धेरै नेता तथा कार्यकर्ता गाउँ गएकाले जनभेटघाट गर्न निर्देशन दिइएको बताए । उनले बाढी, पहिरोले हजारौं व्यक्तिको दशैं उत्सवका रुपमा नभई कष्टका रुपमा रहेको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाढी, प्रभावित क्षेत्रमा दशैं मनाउने अवस्था मिलाउन निर्देशन दिएका छन् । 

माआवादीको सर्कुलरमा बाढी र पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएकाले शुभकामना आदानप्रदान कार्यक्रम नगर्न भनिएको छ ।