काठमाडौं— नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बिहीवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा गर्ने उडानका सबै टिकट बिक्री भएका छन् ।

हिजो बेलुका यात्रुको चाप बुझ्नका लागि एक घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान सबै १ सय ५८ वटै टिकट बिक्री भएको वायु सेवा निगमका सहायक प्रवक्ता मनोजकुमार साहले जानकारी दिए । काठमाडौं–भैरहवा उडानमा यात्रुको चाप थेगिनसक्नुको रहेको पनि उनले बताए । 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाडौं–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको निगमले जनाएको छ । तर अझै टुङ्गो भने लागेको छैन । अर्को उडान हुने/नहुने विषय बेलुकासम्म टुङ्गो लाग्ने निगमले जनाएको छ ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको एक सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

फूलपातीका दिन काठमाडौंबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाडौं फर्किनेछ । काठमाडौंबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाडौंको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । फर्किँदाको टिकट भने धेरै बिक्री नभएको पनि साहले जानकारी दिए ।