काठमाडौं — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शितलनिवासमा आइतबार एक समारोहका बीच प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
असोज १६ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदन भएका प्रधानन्यायाधीश राउतलाई आइतबार बिहान मात्रै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाशमा गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।
सन् १९६१ मा उदयपुरमा जन्मिएका राउत सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । सन् १९८३ देखि २०१६ सम्म अधिवक्ता तथा वरिष्ठ अधिवक्ताका रूपमा वकालत गरेका थिए।
उनी देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् । उनी सन् २०१६ सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्षसमेत बनेका थिए ।